काठमाडौँ - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार दुई हजार ४४९.९७ बिन्दुमा कारोबार बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कानुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालू आवको पहिलो कारोबार दिन साउन ३ गते दुई हजार ९८०.६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर निरन्तर घटिरहेको छ ।
उच्च बिन्दुबाट बजार २३ प्रतिशतभन्दा बढीले घट्दा लगानीकर्ताको रु १० खर्ब बढीकोे सम्पत्ति गुमेको छ । नेप्से परिसूचक उच्चतम हुँदा रु ४४ खर्ब ६८ अर्बको बजार पुँजीकरण बिहीबारको कारोबार पछि रु ३४ खर्ब ४४ अर्बमा खुम्चिएको छ । परिसूचक घटेसँगै कारोबार रकममा समेत गिरावट आएको देखिन्छ । गत साउन ३१ गते दैनिक कारोबार रकम रु २१ अर्ब भन्दा बढी भएकामा बिहीबार रु दुई अर्ब ६७ करोडमा सिमित हुन पुगेको छ ।
शेयर बजारमा नेप्सेका साथै कारोबार घट्दा लगानीकर्तामा निरासा छाएको छ । अझ नयाँ लगानिकर्ता अन्योलमा रहेको देखिन्छ । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन् । बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ ।
प्रतिक्रिया