काठमाडौं - गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८।७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ ।
बैंकले आज अर्थात मंसिर १६ गतेदेखि ‘८।७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो। सो ऋणपत्रको अवधि ७ वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सो ऋणपत्र खरिदका लागि छिटोमा मंसिर २० गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस १ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया