काठमाडौं - गैर आवासीय नेपाली (एनआरएन) लाई डलर खाता खोल्न दिने प्रक्रिया अघि कढाइएको छ ।
केही दिन अघि राष्ट्र बैंकमा भएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले एनआरएनलाई डलरमा खाता खोल्न दिने बारे पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका थिए । एनआरएनले लामो समयदेखि नेपालमा डलरमा खाता खोल्न सरकारसँग माग गर्दै आइरहेका थिए ।
अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले एनआरएनलाई डलरमा खाता खोल्ने विषयमा धेरै प्रक्रिया अगाडि बढिसकेको बताउँदै अहिले कार्यविधि निर्माणको काम भइरहेको बताए । विदेशी मुद्रा सञ्चिति बढाउन र थप लगानी भित्र्याउनका लागि एनआरएनलाई डलरमा खाता खोल्न दिन लागिएको हो ।
कोभिड महामारीका कारण भएको दोस्रो लकडाउन खुकुलो भएसँगै विस्तारै नेपालको आयात व्यापार आकासिएको छ । आयात आकासिएसँगै नेपालको शोधनान्तर घाटा बढ्नुको साथै नेपालको विदेशी मुद्रा सञ्चिति समेत विस्तारै घट्न थालेको छ ।
विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि चिन्तित सरकारले यसलाई बढाउन विभिन्न उपाय अपनाउने क्रममा एनआरएनलाई डलरमा खाता खोल्न दिने नीति लिएको हो ।
प्रतिक्रिया