राष्ट्र बैंकका कर्मचारीसँग बैंक वित्तीय संस्था डराउनुपर्ने अवस्थाको अन्त्य गर्नु पर्छ : अर्थमन्त्री

४ बर्ष अगाडि

काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका कर्मचारीसँग बैंक वित्तीय संस्था डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । 

मन्त्री शर्माले राष्ट्र बैंकबाट अनुगमन जाने कर्मचारी भन्ने बित्तिकै बैंकहरू डराउनुपर्ने अवस्थाको सहज वातावरण बनाउनुपर्ने बताएका हुन् ।

मंगलबार राष्ट्र बैंकमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा बोल्दै मन्त्री शर्माले गैरआवसीय नेपाली ९एनआरएन० लाई डलर खाता खोल्न दिने बारे छलफल भइरहेको जानकारी दिए । 

उनले सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खाता खोल्न दिने बारे छफलफल भइरहेको बताएका हुन् । एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उनले बताए ।

मन्त्री शर्माले पछिल्लो समय क्रिप्टोकरेन्सीको कुरा भइरहेको भन्दै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने सुभालव समेत दिएका छन् । पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैं डिजिटल साक्षरता आवश्यक हुने पनि उनले बताए । त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी मन्त्री शर्माले अझै पनि कर कार्यालयको अधिकृत भन्ने बित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरू यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्ने बित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेको भन्दै सहज वातावरण बनाउनुपर्ने बताए । 

त्यस किसिमको अवस्थाले समावेशी लोकतन्त्रअनुसारको चरित्र तथा मानसिकता अझै विकास भइनसकेको बुझाउने उनको भनाइ छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया