काठमाडौं, नेपाल राष्ट्र बैंकले नेपाली सेनाको शान्ति मिसनलाई सोझै डलर सटही सुविधा उपलब्ध गराउने भएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र ११/२०७६ को दफा १ को पहिलो अनुच्छेदमा संशोधन तथा सोही परिपत्रको दफा १ को शर्त नं. १२ थप गर्दै उक्त सुविधा प्रदान गर्ने भएको हो ।
राष्ट्र बैंकले मंगलबार एकीकृत परिपत्र २०७६ संशोधन गर्दै आफ्ना कार्यालय, विभाग तथा वाणिज्य बैंक, विकास बैंकहरुलाई सेनालाई विनिमय सुविधा प्रदान गर्न निर्देशन दिएको छ ।
यसअनुसार नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरण समेतको लागि विदेशी मुद्राको सटही सुविधा माग गरेमा शर्तहरुको अधीनमा रही राष्ट्र बैंक, बैंकिङ विभाग, सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, इजाजतपत्रप्राप्त क वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका ख वर्गका विकास बैंकहरुबाट सोझै त्यस्तो सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।
नेपाली सेनाको हकमा विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम बैंकिङ उपकरण।प्रणालीमार्फत स्थानान्तरण गर्नुपर्दा सो पुष्टि हुने कागजातका आधारमा सटही सुविधा प्रदान गर्दा शर्त १ देखि ११ सम्मका व्यवस्थाहरु लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकका अनुसार नेपाल सेनाबाट अनुरोध भई आएमा बैंक खाता सञ्चालन नहुने।नभएको शान्ति मिसनमा तैनाथ रहेका मुलुकहरुका लागि त्यस्तो सटही सुविधा नगदमा समेत उपलब्ध गराउन कुनै बाधा नपर्ने परिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया