काठमाडौं - नेपाल बंगलादेश बैंकको मर्जरलाई विदेशी लगानीकर्ताले बिक्री गर्ने शेयरले निर्धारण गर्ने भएको छ । बंगलादेशी आईएफआईसी बैंकको ४१ प्रतिशत शेयर वित्तीय संस्थाले नै खरिद गरे मात्र बंगलादेश बैंक मर्जरमा जाने भएको हो ।
नेपाल बंगलादेश बैंकको उक्त शेयर खरिद गर्नका लागि धेरै संस्था तथा व्यक्तिले चासो देखाएको भए पनि कुनै निर्णयको चरणमा पुगिनसकेको बैंकले जनाएको छ । बैंकहरुले संस्थागत रुपमा बंगलादेशी साझेदारको ४१ प्रतिशत शेयर खरिद गर्ने सम्बन्धमा कुनै संवाद नभएको तर केही बैंकका संस्थापकहरुले उक्त शेयर खरिद गर्न चाहेको बताइएको छ ।
बैंकले बंगलादेशी संस्थापकहरुको शेयर बिक्री गर्नका लागि केही समय अघि सूचना निकालेको थियो । उक्त शेयर खरिद गर्नका लागि एनबी समुहका लक्ष्मी बहादुर श्रेष्ठले आवेदन गरेका थिए । तर नेपाल राष्ट्र बैंकले श्रेष्ठलाई शेयर किन्न अयोग्य ठहर्याए पछि उक्त प्रकृया रोकिएको थियो ।
यस्तो अवस्थामा बंगलादेश बैंक मर्जरमा जाने सम्बन्धमा कुनै किसिमको घटनाक्रम विकास नभएको बताइएको छ । मर्जरको सम्बन्धमा कुनै संवाद नभएको अवस्थामा बंगलादेश बैंकले ५ वर्षे रणनीति अनुसार अघि बढ्ने योजना बनाएको बैंकले जनाएको छ ।
बैंकको ग्रोथलाई १५ प्रतिशतसम्मको औसतमा कायम गराउँदै आगामी दिनमा अघि बढ्ने योजना बैंकले बनाएको छ ।
प्रतिक्रिया