काठमाडौं, आर्थिक वर्षको २०७७/७८ को ९ महिनामा घरजग्गाको मूल्य १६.३१ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण नतिजाअनुसार ९ महिनामा वाणिज्य बैंकहरुबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति १६.३१ प्रतिशत छ । मालपोत कार्यालयबाट प्राप्त तथ्यांकका आधारमा यस्तो मुद्रास्फीति १२.५७ प्रतिशत छ ।
सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६–७७ मा वाणिज्य बैंकहरुबाट प्राप्त तथ्यांकको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत थियो भने मालपोत कार्यालयबाट प्राप्त तथ्यांकका आधारमा यस्तो मुद्रास्फीति १९.७३ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकले घरजग्गाको पनि त्रैमासिक रुपमा मूल्य सूचकांक नियमित प्रकाशन गर्ने भएको छ । घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सर्वाजनिक गर्दै राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । घरजग्गाको मूल्यमा आउने उतार–चढाव मापन गर्ने उदेश्यले नेपालमा पहिलोपटक मूल्य सर्वेक्षण सम्पन्न गरी घरजम्गा मुद्रास्फीति मापन गर्न सूचकांक निर्माण गरिएको हो । यसरी प्राप्त हुने घरजम्गा मूल्य सूचकांक त्रैमासिक रुपमा नियमित प्रकाशन गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया