काठमाडौं - चालु आर्थिक वर्षको तीन महिनामा कुल आन्तरिक कर्जा ५.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा यस्तो कर्जा २९.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ७.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ४.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ३०.७ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १७.२ प्रतिशतले बढेको छ ।
चालु आवको असोजमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३४.४ प्रतिशत र ५०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ९.१ प्रतिशत, ३२.८ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो ।
चालु आवको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४०.५ प्रतिशत रहेको छ । २०७७ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४३.२ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया