काठमाडौं, महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आवको असोजमसान्तसम्ममा ३२ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा ३९.२५ प्रतिशतले बढी हो ।
गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २३ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
इन्स्योरेन्सले यस अवधिमा लगानी, कर्जा तथा अन्य आयबाट ३ करोड ८५ लाख रुपैयाँ र बीमालेख धितोमा २२ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरी १ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको खुद नाफा पनि ४.८९ प्रतिशतले बढेर २ करोड ५४ लाख रुपैयाँ पुगेको छ । यो नाफा बीमाङ्कीय मूल्याङ्कन अघिको हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीको जगेडा कोषमा २० करोड ८९ लाख रुपैयाँ, जीवन बीमा कोषमा १ अर्ब ५३ करोड ७८ लाख रुपैयाँ र महाविपत्ती कोषमा २ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा इन्स्योरेन्सले ३ हजार ४३५ वटा बीमालेख जारी गरी ३३ करोड ५३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्ससम्ममा कम्पनीले २९८ वटा दाबी वापत ४ करोड ७७ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १४ वटा दाबी वापत ४१ लाख ६६ हजार रुपैयाँ भुक्तानी गर्न बाँकि छ ।
प्रतिक्रिया