विभिन्न ८ कम्पनीको साधारण सभा हुँदै, कुनको कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न ८ कम्पनीहरुको वार्षिक साधारण सभा हुने भएको छ । 

जसमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड, मुक्तिनाथ क्यापिटल लिमिटेड, हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड, आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको सभा हुन लागेको हो । 

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको  छैठौँ वार्षिक साधारण सभा कार्तिक २२ गते न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाको असोज १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कार्तिक ८ गतेदेखि कार्तिक २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, कार्तिक ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

माछापुच्छ्रे बैंक लिमिटेड
माछापुच्छ्रे बैंक लिमिटेडको २३औँ वार्षिक साधारण सभा कात्तिक २६ गते दिउँसो ११ बजेदेखि होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ । 

सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि कात्तिक ७ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले, कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

मुक्तिनाथ क्यापिटल लिमिटेड
मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा कार्तिक २३ गते मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यलय काठमाडौँ प्लाजा, कमलादी काठमाडौँमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत हुने छ । कम्पनीको विशेष साधारण सभामा १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित लगिनेछ । 

हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा कार्तिक २६ गते होटल अलफ्ट, ठमेल, काठमाण्डौंमा अपरान्ह ५ बजेबाट सुरू हुनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत प्रथम वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिनेछ । 

लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा जोक्सान हिसाब नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरिनेछ । सभामा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पनि रहेको छ । 

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारण सभा कात्तिक २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असोज २५ गतेदेखि एकिकृत कारोबार गरेको हुनाले बोनसमा कर लाग्दैन । 

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौँ वार्षिक साधारण सभा कार्तिक २८ गते बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक १४ गते बुकक्लोज गरेको थियो । त्यसैले, कार्तिक ११ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा कात्तिक २७ गते शनिबार फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा बिहान १० बजेबाट सुरू हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड
आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको छैठौँ वार्षिक साधारण सभा कार्तिक ३० गते, मंगलबार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रिय कार्यालय। सिंहदरबार प्लाजामा दिउँसो ३ बजेबाट सुरू हुनेछ । 

सभामा चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया