काठमाडौं - नेपालमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये आठ वटाको बोनस दर सार्वजनिक भएको छ । कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को लागि बीमितले पाउने बोनस दर सार्वजनिक गरेका हुन् । हालसम्ममा मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सूर्या लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ र महालक्ष्मी लाइफले आर्थिक वर्ष २०७६/७७ को लागि बोनसदर सार्वजनिक गरेका हुन् ।
मेट लाइफ इन्स्योरेन्स
अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी ९मेटलाइफ० ले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय मूल्यांकनको आधारमा मुनाफामा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । यो अहिलेसम्म सार्वजनिक भएको बोनस दर मध्ये सबैको भन्दा धेरै हो ।
प्राइम लाइफ इन्स्योरेन्स
प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण बीमा समितिबाट असोज ६ गते स्वीकृती पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा कम्पनीले प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको हो ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको छ ।कम्पनीको सावधिक जीवन बीमालेखमा बीमा अवधिको आधारमा प्रति हजार न्यूनतम ३५ रुपैयाँ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने छन् ।
कम्पनीले सावधिक तथा आजीवन बीमालेख बीमा अवधिको आधारमा न्युन्तम ३६ रुपैयाँ देखि ७५ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्सले २०७७ असार मसान्तसम्ममा जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुको बोनस दर निर्धारण गरेको छ । बीमा समितिबाट असोज ७ गते गत आर्थिक वर्षको बीमांकीय प्रतिवेदन स्वीकृत भएपछि कम्पनीले बोनस दर सर्वजनिक गरेको हो । कम्पनीले गत आर्थिक वर्षको अन्त्य सम्म कायम बीमतलाई प्रति हजार न्युनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनस वितरण गर्नेछ ।
सावधिक, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्ष सम्म कायम रहने बीमालेख खरिद गर्ने बीमितले ४३ रुपैयाँ, १० देखि १४ वर्ष सम्मकोले ४५ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोले ५० रुपैयाँ, २० देखि २४ वर्ष सम्मकोले ५५ रुपैयाँ र २५ वर्ष वा त्यस भन्दा मथिको बीमालेखमा बीमितले ७५ रुपैयाँ सम्म बोनस पाउनेछन् । यस्तै अग्रिम भुक्तानी बीमालेख अन्र्तगत १० देखि १४ वर्षको बीमालेखमा ४३ रुपैयाँ, १५ देखि १९ वर्ष सम्मकोमा ४५ रुपैयाँ र २० देखि २४ वर्ष सम्ममा बीमालेख खरिद गर्ने बीमितले ५० रुपैयाँ बोनस पाउने छन् ।
एशियन लाइफ इन्स्योरेन्स
एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६र७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कार्तिक ३ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमालेखमा न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ४४ रुपैयाँ देखि ७० रुपैयाँ बोनस पाउनेछन् । यस्तै नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्ल्स, एशियन वार्षिक धनलाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्युनतम ३२ रुपैयाँ देखि ५८ रुपैयाँ सम्म बोनस पाउनेछन् ।
सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कार्तिक ५ गतेको पत्रबाट स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा प्रतिवर्ष प्रतिहजार बीमांक रकममा बोनस दर निर्धारण गरेको छ । कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनस पाउनेछन् । यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ३८ रुपैयाँ देखि ७३ रुपैयाँ बोनस दर सार्वजनिक गरको छ ।
प्रभु लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को लागि बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन बीमा समितिबाट कार्तिक ५ गते स्वीकृत भएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।कम्पनीको सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउनेछन ।
यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना भने न्युनतम ३५ रुपैयाँ देखि ५१ हजार रुपैयाँ बोनस पाउनेछन् ।
रिलायन्स लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बीमांकीय मूल्यांकन प्रतिबेदन बीमा समितिबाट असोज ६ गते स्वीकृति भएपछि बोनस दर सार्वजनिक गरेको छ । इन्स्योरेन्सले न्युनतम १९ रुपैयाँ देखि ६० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेका हुन् ।
सावधिक,सावधिक तथा आजीवन बीमा योजनामा ३० रुपैयाँ देखि ६० रुपैयाँ,अग्रिम भुक्तानी सार्वधिक बीमा योजनामा ४१ रुपैयाँ देखि ४५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी मुद्दती नियमित शुल्क बीमा योजनामा न्युनतम २४ रुपैयाँख देखि ५४ रुपैयाँ र सामुहिक सावधिक बीमा योजनामा १९ रुपैयाँ बीमितले बोनस पाउनेछन् ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स
महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको वित्तीय विवरण बीमा समितिबाट असोज ७ गते स्वीकृति पाएपछि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको हो ।
त्यस अनुसार २०७७ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने बीमालेखहरुमा बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ५२ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो । कम्पनीको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रुपैयाँ देखि अधिकतम ७२ रुपैयाँसम्म बोनस पाउनेछन ।
कम्पनीले महालक्ष्मी सरल जीवन बीमा र महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा बीमा अवधिको आधारमा न्युन्तम ५० रुपैयाँ र अधिकतम ५१ रुपैयाँ बोनस दिनेछ । यस्तै कम्पनीले महालक्ष्मी वार्षिक धन फिर्ता बीमा योजनामा ४० रुपैयाँ र महालक्ष्मी सावधिक आजीवन बीमा योजनामा ५० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।
प्रतिक्रिया