काठमाडौं, चालु आवको पहिलो ३ महिनामा सबैभन्दा धेरै नाफा एनआइसी एसिया बैंकले गरेको छ । बैंकले चालु आवको असोज मसान्तसम्ममा नै १ अर्ब १८ करोड रुपियाँ खुद मुनाफा गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६४ प्रतिशतले बढी हो ।
३ महिनामा १ अर्बभन्दा बढी मुनाफा गर्ने बैंकहरुमा नबिल बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंक रहेका छन् ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले २४ प्रतिशतले नाफा वृद्धि गरेका छन् । गत वर्ष १४ अर्ब ६० करोड ४२ लाख ७६ हजार रुपियाँ खुद मुनाफा गरेकोमा यस वर्षको पहिलो त्रैमासमा बैंकहरुले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपियाँ पुगेको छ । समीक्षा अवधिमा २३ वटा वाणिज्य बैंकको खुद मुनाफा बढेको छ भने ४ वटा वाणिज्य बैंकको मुनाफा भने घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा सबैभन्दा बढी सिभिल बैंकले आफ्नो मुनाफामा वृद्धि गरेका छन् । सिभिल बैंकले गत वर्षको पहिलो ३ महिनाको नाफा भन्दा २०१ प्रतिशतले मुनाफा वृद्धि गरेको हो । त्यसैगरी सिद्धार्थ बैंकले ९० प्रतिशत, नेपाल एसबीआई बैंकले ८६ प्रतिशत, लक्ष्मी बैंकले ७७ प्रतिशत र एभरेष्ट बैंकले ७३ प्रतिशतले अघिल्लो वर्षको पहिलो ३ महिनाको तुलनामा नाफा वृद्धि गरेको प्रतिवेदन सार्वजनिक गरेका छन् । त्यसैगरी माछापुच्छे बैंकले ५६ प्रतिशत, नेपाल क्रेडिट एन्ड कमर्स बैंकले ५५ प्रतिशत, सानिमा बैंकले ५२ प्रतिशत र मेगा बैंकले नेपालले ५० प्रतिशतले आफ्नो खुद मुनाफामा वृद्धि गरेका छन् । नाफा वृद्धि गर्ने बैंकहरुले समग्रमा ५ प्रतिशतदेखि २ सय १ प्रतिशतसम्म वृद्धि गरेको देखिएको छ ।
यस्तै, नेपाल बंगलादेशको मुनाफामा सबैभन्दा बढी २८ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी प्रभु बैंकको २५ प्रतिशत, कुमारी बैंकको १० प्रतिशत प्राइम कमर्सियल बैंकको ४ प्रतिशतले नाफामा गिरावट देखिएको छ ।
१३ वटा वाणिज्य बैकहरुको तीन महिनाको नाफा ५० करोडदेखि १ अर्बको बीचमा रहेको छ । प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, माछापुच्छ बैंक,लक्ष्मी बैंक, कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक यो श्रेणीमा रहेका छन् । ३ महिनामा सबैभन्दा कम नाफा गर्ने बैंकमा भने बैंक अफ काठमाडौं पर्न आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा जम्मा २५ करोड ३४ लाख रुपियाँ खुद मुनाफा गरेका थिए ।
प्रतिक्रिया