काठमाडौं - सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९४ करोड ८७ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.५० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घट्दा बैंकको खुद नाफा बढ्न टेवा पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३०.२५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८७.२७ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६५.८१ प्रतिशत बढेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २९ करोड ७८ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा ४८ करोड ६२ लाख ऋणात्मक रहेको थियो ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ३.८५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप १.४४ प्रतिशत बढेको छ भने कर्जा ९.२३ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५ पैसाबाट १४ रुपैयाँ ५५ पैसा बढेर ३४ रुपैयाँ ६६ पैसा पुगेको छ ।
प्रतिक्रिया