काठमाडौं - स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्ष शुरु भएदेखिनै रोकिएको दाबी रकम भुक्तानी गर्न थालेको छ । बोर्डले अर्थमन्त्रालयबाट रकम निकासा भएपछि दाबी पठाएका हस्पिटलहरुलाई रकम भुक्तानी गर्न थालेको हो ।
अर्थमन्त्रालयबाट रकम निकासा भएपछि हस्पिटलहरुलाई भुक्तानी दिन थालिएको बोर्डले जनाएको छ । दाबी भुक्तानी गर्नुपर्ने पुरानो रकम थुप्रिएकोले दाबी भुक्तानीमा ढिलाई भएको बोर्डको भनाई छ ।
चालु आर्थिक वर्षको लागि सरकारले साढे ७ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उक्त रकम आंशिक रुपमा निकासा भएपछि बोर्डले हस्पिटलहरुलाई भुक्तानी दिन थालेको हो ।
गत आर्थिक वर्षको लागि सरकारले विनियोजन गरेको रकम भने सबै भुक्तानी गरिसकेको बोर्डले जनाएको छ । बोर्डले गत आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले विनियोजन गरेको ४ अर्ब ८२ करोड रुपैयाँ दाबी वापत विभिन्न हस्पिटलहरुलाई भुक्तानी गरेको हो ।
२०७२ सालदेखि विविध करणले दाबी रकम भुक्तानी नभएर सरकारले विनियोजन गरेको रकम फिर्ता जाने गरेकोले अहिले भुक्तानी गर्नुपर्ने रकम भने बढ्दै गएको बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म ५ लाख ५९ घरधुरीका ४५ लाख १६ हजार ४६९४ जना स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् ।
केन्द्रिय तथ्यांक विभागको अनुसार हाल नेपालमा कुल ३ करोड २० लाख जनसंख्या छन् । त्यसको आधारमा स्वास्थ्य बीमा कार्यक्रमले करिब १५ प्रतिशत जनसंख्या मात्रै समेटिएका हुन् । बीमितहरुबाट बोर्डले हालसम्म ९ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया