काठमाडौं - बैंकिंङ प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएपछि चालु आर्थिक वर्षको कार्तिक ११ गतेसम्ममा बैंकहरुले ११ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत रकम उठाएका छन् ।
बैंकहरुले ५४६ पटकमा यो रकम उठाएका हुन् । यस्तै बैंकहरुले सय पटकमा ४१ अर्ब ३३ करोड रुपैयाँ ओभरनाइट रिपो उपयोग गरेका छन् ।तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ भने यस अवधिमा बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् ।
चालु आवको कार्तिक ११ गतेसम्म केन्द्रिय बैंकले ८ पटक गरेर एक खर्ब ८० अर्ब बराबरको रिपो जारी गरिसकेको छ । अहिले रिपोको ब्याजदर नै पाँच प्रतिशत नजिक पुगेको छ । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि गत असोजदेखि अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका छन् ।
जसमा साधारण बचतको ब्याजदर नै ६ प्रतिशत माथि पुगेको छ भने मुद्दती बचतको ब्याजदर ९.३६ प्रतिशत रहेको छ । चालु आवको कार्तिक १० गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा ४८ खर्ब ६ अर्ब रुपैयाँ रेहको छ भने वाणिज्य बैंकहरुमा ४२ खर्ब ४६ अर्ब रुपैयाँ निक्षेप छ ।
यस अवधिमा कुल ४५ खर्ब ७ अर्ब कर्जा लगानी भएको छ । यसवअधिमा वाणिज्य बैंकहरुले ४० खर्ब ७ अर्ब कर्जा लगानी गरेका छन् । अन्तरबैंक दर ४.९६ प्रतिशत तथा सिडी रेसियो ८९.१५ प्रतिशत छ ।
प्रतिक्रिया