सिटिजन बैंक लुट्ने तीन जना पकाउ, छ भारततर्फ फरार

४ बर्ष अगाडि

काठमाडौं - मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया विपी चोकस्थित सिटिजन बैंकमा यही असोज २५ गते अपराह्न ३ः४५ बजे २१ लाख ७० हजार लुटपाट घटनामा संलग्न भई पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा उक्त घटनाका मुख्य योजनाकार नेपाली नागरिक विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया, भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव र भारत अररिया गाराहा–४ का ३० वर्षीय विजय सहनी ९गोली लागी घाइते०लाई सार्वजनिक गरिएको छ ।

लुटपाटपछि घाइते सहनीलाई को २५ प ३८९९ को मोटरसाइकलको बीचमा राखी भारततर्फ भाग्ने क्रममा मोरङको धनपालथान–२ खयरबना चोकबाट स्थानीयवासीको सहयोगमा प्रहरीले १५ मिनटको अवधिमा तिनीहरूलाई पक्राउ गरेको हो ।

यादव भारत फरार भइसकेको अवस्थामा गोली लागी घाइते भएका सहनीलाई लिन टेम्पोमा आएर पुनः मोटरसाइकलमा जाने क्रममा प्रहरीले पकाउ गरेको हो । उक्त लुटपाटमा नौ जना सङ्लग्न रहेकामा सात जना बैंकमा प्रवेश गरेका, एक जना बाहिर बसेको र अन्य एक जना नदेखिने पाराले बसेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

लुटपाटमा संलग्न छ जना भारततर्फ फरार रहेको आशङ्का गरिएको र चाँडै प्रकाउ गरी सार्वजनिक गरिने बताइएको छ । उक्त लुटपाटको प्रतिरोध गर्ने क्रममा बैंकका सुरक्षा गार्ड शीतल कुमाल गोली लागी घाइते भएका र निजको विराटनगरको एक निजी अस्पतालमा उपचार भइरहेको छ । 

निजहरुको साथबाट कटुवा पेस्तोल एक थान (एक राउण्ड लोडेड गोलीसहित), सानो मोबाइल एक थान, पेस्तोलको नपड्किएको राउण्ड थान एक र खोका एक बरामद गरिएको छ । बैंकले प्रारम्भिकरूपमा रु २१ लाख ७० हजार लुटपाट भएको जनाए पनि लिखितरूपमा अहिलेसम्म विवरण नपठाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

होजियारी उद्योग सञ्चालन गरेका मुख्य योजनाकारका रूपमा रहेका मुखियाले चाँडै पैसा कमाउने उद्देश्य राखेका थिए भने सहनी र यादव भारतका पेशेवर अपराधी हुन् । निजहरु उपर हातहतियार खरखजना, डकैती, सङ्गठित अपराध तथा ज्यान मार्ने उद्योग गरी चारवटा मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया