काठमाडौं - राष्ट्र बैंकले तरलता सहज गर्न चालू आर्थिक वर्षको तीन महिनामा पटक–पटक गरी ९ खर्ब ७ अर्ब ८९ करोड ३२ लाख रुपैयाँ बजारमा पठाएको छ ।
यो मौद्रिक उपकरण र स्थायी तरलता सुविधा ९एसएलएफ०मार्फत हो । उसले १ हप्तेदेखि २ हप्ते अवधिसम्मका उपकरण १८ पटक जारी गरेको थियो । यसबाट बजारमा २ खर्ब ३२ अर्ब ६५ करोड ३२ लाख गएको छ ।
एसएलएफमार्फत् ४४ पटकमा ६ खर्ब ७५ अर्ब २४ करोड रुपैयाँ गएको छ । यसमा बैंकले ३ सय ३४ पटकसम्म कारोबार गरेका छन् । यस्तो कारोबार ५ प्रतिशत ब्याजदरमा भएको छ । खर्बौं रुपैयाँ सापटी लिएपछि ऋण दिन केही राहत पुगेको बैंकरहरू बताउँछन् ।
बैंकमा तरलताको चरम अभाव भए राष्ट्र बैंकले सापटीका लागि अन्तिम ऋणदाताका रूपमा सुविधा दिन्छ । बैंकले अन्तरबैंक सापटी लिन्छन् । तर, यसबाट पनि नपुगे अन्तिम विकल्प राष्ट्र बैंकले सापटी दिन्छ ।
यतिबेला अन्तर बैंक सापटीमा असहज भएपछि केन्द्रीय बैंकले बढी सापटी दिएको बताएको छ । यस्तो अवस्था नआउन बैंकहरूले ऋणपत्र ९डिवेञ्चर०जस्ता दीर्घकालीन स्रोतको जोहो गर्न जरुरी भएको केन्द्रीय बैंकको भनाइ छ ।
रिपो, ट्रेजरी बिललगायत जारी गरी तरलता व्यवस्थापन गरिएको राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्ष राष्ट्र बैंकले १ खर्ब ३० अर्बको रिपो जारी गरिसकेको छ । माग भने ३ खर्ब २२ अर्ब ८५ करोड रुपैयाँ परेको थियो ।
प्रतिक्रिया