काठमाडौं - चालु आर्थिक वर्ष सुरु भएदेखि बैंक वित्तीय संस्थाले ५ खर्ब २२ अर्ब ३० करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा लिएका छन् । त्यसैगरी केन्द्रीय बैंकले एक खर्ब रुपैयाँ बरावरको रिपो निष्कासन गरिसकेको छ ।
राष्ट्र बैंकले बिहीबारका लागि मात्र ३० अर्ब रुपैयाँ बराबरको रिपो निष्कासनको तयारी गरेको छ । बिहीबार निष्कासन गर्ने ३० सहित चालु आर्थिक वर्षमा हालसम्म नेपाल राष्ट्र बैंकले १३० अर्ब रुपैयाँ बराबरको रिपो निष्कासन गरेको अवस्था छ ।
एक साताका लागि पाइने रिपोको दर पनि पछिल्लो समयमा ५ प्रतिशतको हाराहारीमा पुगेको छ । चालु आव सुरु भएदेखि राष्ट्र बैंकले एक सय अर्बको रिपो खरिद गर्नका लागि २ खर्ब ६१ अर्ब ५५ करोड रुपैयाँ बराबरको माग आवेदन परेको छ ।
त्यसैगरी यो अवधिमा न्यूनतम ४.६९ र अधिकतम ४.९९ प्रतिशत रिपो दरमा रिपो खरिद आवेदन दिएका छन् । तर, राष्ट्र बैंकले बिक्री गर्दाको अधिकतम औसत रिपो दर ४.७४ देखि ४.९० प्रतिशत सम्म कायम भएको जनाएको छ ।
चालु आर्थिक वष सुरु भएदेखि बैंक वित्तीय संस्थाले ओभर नाइट रिपोको सुविधा पनि प्रयोग गरेको देखिन्छ । यो अवधिमा बैंक वित्तीय संस्थाहरुले ६७ करोबारबाट २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ओभरनाइट रिपो चलाएका छन् ।
प्रतिक्रिया