काठमाडौं, बिमाको दायरा बढ्दै गएको छ । चालु आवको भदौ मसान्तसम्म पुग्दा बिमाको दायरा बढेर कुल जनसंख्याको २७.५२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको भदौसम्मको बिमा कुल जनसंख्याको २५.१९ प्रतिशतमा सीमित थियो । चालु आवको दुई महिनामा मात्र बिमाको दायरा सवा २ प्रतिशतले बढेको हो ।
वैदेशिक रोजगारमा जाने नेपालीले अनिवार्य बिमा गर्नुपर्ने प्रावधान आएपछि नेपालको बिमा बजारको व्यवसाय ह्वात्तै बढेको थियो । त्यसैगरी तेस्रो पक्ष बिमा गर्नुपर्ने भएपछि निर्जीवन बिमाको व्यवसायको आकार बढेको थियो । वैदेशिक रोजगार बिमालाई अलग राखेर हेर्दा पनि हाल नेपालको बिमा २५.५९ प्रतिशत जनसंख्यामा पुगेको छ ।
चालु आवको पहिलो दुई महिनामा जीवन बिमालेख संख्या १५.८० प्रतिशतले बढेको छ । चालु आवको भदौ महिनासम्म नेपालको सम्पूर्ण बिमा कम्पनीहरुको बिमालेख संख्या ८२ लाख ८ हजार ५ सय २५ पुगेको छ । अघिल्लो वर्षको भदौसम्म ७० लाख ८८ हजार ५ सय ७ वटा मात्र बिमालेख जारी भएका थिए ।
कोरोना भाइरसका कारण सम्पूर्ण विश्व नै ठप्प हुँदा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा पनि कमी आयो । वैदेशिक रोजगारीमा जाने संख्यामा आएकै कमीको कारण वैदेशिक रोजगार बिमालेख संख्या दुई महिनामा ३०.६३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष भदौसम्म ८ लाख ४७ हजार रहेको बिमालेख संख्या भदौ मसान्तसम्म आउँदा ५ लाख ८७ हजार ५ सय वटामा सीमित हुन पुगेको छ ।
समग्र वैदेशिक रोजगार बिमासहितको जीवन बिमालेख भदौसम्म १०.८४ प्रतिशतले बढेको छ । चालु आवको भदौसम्म जीवन बिमालेख संख्या ८७ लाख ९६ हजार पुगेको छ । यसअघि गत आवको भदौसम्म ७९ लाख ३५ हजार ५ सय ५३ वटा बिमा लेख संख्या रहेको छ ।
निर्जीवन बिमाको बिमालेख २ महिनामा ७.६६ प्रतिशतले बढेको छ । निर्जीवन बिमाको बिमालेख भदौ मसान्तसम्म ४ लाख ७३ हजार २ सय ६४ वटा पुगेको छ ।
प्रतिक्रिया