काठमाडौं, जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको २ महिनामा ६ अर्ब ३८ करोड रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका छन् ।
वैदेशिक रोजगार बीममशुल्क सहित दुई महिनामा कुल २८ अर्ब १४ करोड रुपैयाँको व्यवसाय विस्तार भएकोमा नयाँ व्यवसायको हिस्सा २२.६७ प्रतिशत रहेको छ । भदौसम्म २१ अर्ब ५७ करोड नविकरण शुल्क संकलन भएको छ ।
१९ जीवन बीमा कम्पनीले साउन र भदौमा ६ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । जसमध्ये भदौमा मात्र कम्पनीहरुले ३ अर्ब ६४ करोडको प्रथम बीमाशुल्क संकलन गरेका हुन् । गत साउनमा २ अर्ब ७३ करोड बीमाशुल्क संकलन भएको थियो ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको छ । नेपाल लाइफले दुई महिना अवधिमा १ अर्ब १८ करोड रुपैयाँ प्रथम बीमाशुल्क उठाएको हो ।
नेपाल लाइफपछि नेशनल लाइफले दोस्रो ठूलो ६६ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ भने सिटिजन्स लाइफले ५४ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
भदौसम्ममा रिलायबल नेपाल लाइफले ४३ करोड, एलआईसीले ४१ करोड, राष्ट्रिय बीमा संस्थानले ३८ करोड, युनियन लाइफले ३७ करोड, प्रभु लाइफले २८ करोड, मेट लाइफले २७ करोड, एशियन लाइफले २५ करोड, आईएमई लाइफले २४ करोड, सूर्या लाइफ २३ करोड, ज्योति लाइफले २२ करोड र रिलायन्स लाइफले २१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् ।
पाँच जीवन बीमा कम्पनीहरुले दुई महिनामा २० करोडभन्दा कम प्रथम बीमाशुल्क उठाएका छन् । यस अवधिमा प्राइम लाइफ र सन नेपाल लाइफले समान १७ करोड, सानिमा लाइफ १६ करोड, महालक्ष्मी लाइफले ११ करोड र गुराँस लाइफले सबैभन्दा कम १० करोड रुपैयाँ मात्र प्रथम बीमाशुल्क संकलन गरेको छ ।
प्रतिक्रिया