काठमाडौं - नेपाल राष्ट्र बैंकले मुलुकभर सुन कति खपत हुन्छ भनेर अध्ययन गर्न थालेको छ । सुन व्यवसायीले सुनको अभाव भएको भन्दै बारम्बार कोटा बढाउन केन्द्रीय बैंकलाई दबाब दिन थालेपछि उसले सुन खपत कति हुन्छ भनेर अध्ययन गर्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले सुन आयातका लागि बैंकहरुलाई अनुमति दिने गरेको छ । नेपाल बैंकर्स संघमार्फत बैंकहरुले त्यस्तो सुन आयात गर्दै आएका छन् । अहिले बैंकहरुले दैनिक २० किलोका दरले मात्र कच्चा सुन ल्याउँदै आएका छन् । त्यसरी ल्याएको सुन बैंकमार्फत व्यवसायीले खरिद गर्दै आएका छन् ।
दैनिक २० किलोका दरले सुन ल्याउँदा अपुग भएको भन्दै व्यवसायीले राष्ट्र बैंकसँग त्यस्तो सुनको कोटा बढाउन माग गरिरहेका छन् । सुन व्यवसायीले गत भदौं ३० गते नेपाल राष्ट्र बैंक पुगेर सुनको माग अत्याधिक भएको र मागको तुलनामा आपूर्ति कम भएको भन्दै आयात बढाउन दबाब नै दिएका थिए ।
तर, राष्ट्र बैंकले सुन व्यवसायीले भनेको आधारमा मात्र सुनको कोटा बढाउन नसकिने बताएको थियो । केन्द्रीय बैंकले सुन खपतको बिस्तृत विवरण माग गरेको थियो । राष्ट्र बैंकले माग र आपूर्तिबीचको सन्तुलन मिलाउने तयारी गरेको छ ।
सुनमा भइरहेको अवैध कारोबार रोक्ने पहल भइरहेको राष्ट्र बैंकको भनाइ छ । सुन नेपालमा खपत बढी देखाएर चोरी पैठारी भारतमा समेत हुने गरेको केन्द्रीय बैंकको ठहर छ ।
प्रतिक्रिया