एजेन्सी - चीनको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी सम्बन्धी सबै कारोबार अवैध भएको घोषणा गरेको छ ।योसँगै चीनले बिटक्वाइनजस्ता डिजिटल मुद्रामाथि प्रतिबन्ध लगाएको हो ।
भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि भएको पनि त्यहाँको पिपुल्स ब्याङ्क अफ चाइना (पीबीओसी) ले बताएको छ।
उसले त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनीसमेत दिएको छ । चीनको पछिल्लो घोषणासँगै बिटक्वाइनको मूल्यमा २ हजार डलरभन्दा बढीले गिरावट आएको छ ।
आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत् विदेशी विनिमय हुँदै आएको बताइएको छ । अवैध आर्थिक गतिविधिमा संलग्नहरूूले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने पनि केन्द्रीय बैंकको घोषणाले स्पष्ट पारेको छ ।
बिटक्वाइन एक डिजिटल करेन्सी हो । यसलाई क्रिप्टोकरेन्सी पनि भन्ने गरिन्छ । यसको कुनै रङ वा भौतिक स्वरुप हुँदैन ।
यसलाई मात्र प्राविधिक रुपमा कुनै कम्प्युटर तथा इन्टरनेटमा राख्न सकिन्छ । यसलाई नियन्त्रण गर्ने कुनै देश तथा संस्थान नहुने हुँदा बिटक्वाइनद्वारा केही समान खरिदबिक्री तथा पैसा आदानप्रदान गर्न बैंक जस्तो तेस्रो पक्षको आवश्यकता पर्दैन ।
प्रतिक्रिया