आगामी कार्तिक १० गते औपचारिक मर्जरको मिति तय गरेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले एक महिना भाखा सारेका छन् ।
गत आर्थिक वर्षको अडिट रिपोर्ट तयार गर्न ढिला भएकोले दुई बैंकको मर्जरको भाखा मंसिर १० गतेलाई सारिएको हो ।
उनीहरुले गत आवको कारोबार अडिट गरी सो रिपोर्ट साउन महिनाभित्र नै राष्ट्र बैंकमा पेश गर्ने भनेको भएपनि अडिट रिपोर्ट गत भदौ अन्तिममा मात्रै तयार भएको जनाइएको छ ।
राष्ट्रबैंकबाट गत असार ६ गते मर्जका लागि सैद्धान्तिक स्वीकृति पाएका उनीहरुले ३ महिना अर्थात भित्र मर्जरको प्रक्रिया सकेर कात्तिक १० गतेभित्र एकीकृत कारोबार गर्ने भनेका थिए । तर तर तोकिएको समयमा नभएपछि अहिले फेरि दुई बैंकले राष्ट्र बैंकलाई समय थपिदिन अनुरोध गरेका छन्।
दुबै बैंकले मर्जरको लागि दोस्रो चरणको डीडीए (सम्पत्ति तथा दायित्व मूल्याङ्कन) सम्पन्न गरेका छन् ।
हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंकबीच सेयर स्वामित्व अर्थात् स्वाप रेसियो १ः१ रहने सम्झौता भएको थियो । डीडीए रिपोर्टअनुसार हिमालयनको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेस्टमेन्टको १०० रुपैयाँ हुने देखिएको भएपनि सम्झौतामा १० प्रतिशतसम्म तलमाथि परेको खण्डमा समेत १ः१ को स्वाप रेसियोमा जान सकिने सहमति भएकोले यसले कुनै विवाद नभएको बताइएको छ । उनीहरुको डीडीए टीआर उपाध्याय एकाउन्टिङ फर्मले गरेको हो ।
अडिट रिपोर्ट राष्ट्र बैंकमा पठाइसकेकोले त्यो प्रस्ताव राष्ट्र बैंकले पास गरेको खण्डमा २१ दिनको समय राखी साधारणसभा हुने र साधारणसभाबाट पारित भएपछि औपचारिक रुपमा मर्जरको प्रक्रिया पूरा हुनेछ।
मर्जरपछि बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे, सीईओमा अशोक राणा र डेपुटी सीईओमा इन्भेष्टमेन्ट बैंकका हाल सीईओ रहेका ज्योतिप्रकाश पाण्डे रहने सहमति भएको छ।
दुई बैंक एक भएपछि कुल चुक्ता पुँजी नै करिब २७ अर्ब रुपैयाँ पुग्ने यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।
प्रतिक्रिया