बढ्न थाल्यो बैंकिङ कसूरका मुद्दा, २ महिनामा २३ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई हाल भक्तपुर मध्यपुरठिमी –९ बोडे बस्ने ३२ वर्षीय हिरालाल श्रेष्ठलाई हालै पक्राउ गरेको छ । उनी बैंकिङ कसूरजन्य अपराध मुद्दामा कैद तथा जरिमानाको सजाय सुनाइएका व्यक्ति हुन् ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि एक जनालाई २५ लाख रुपैयाँको चेक दिएका श्रेष्ठलाई उच्च अदालत पाटनले गत २९ असारमा १० दिन कैद २५ लाख जरिवाना हुने ठहर गरेको थियो । फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरूको खोजतलास एवं पक्राउको लागि ब्यूरोबाट परिचालित विशेष टोलीले ललितपुरबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालत पेस गरेको छ ।

ब्यूरोको टोलीले चालु आर्थिक वर्ष ०७८/७९ को २ महिना (साउन र भदौ) को अवधिमा अदालतबाट बिभिन्न मुद्दामा कैद तथा जरिमानाको फैसला सुनाइएका २५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । त्यसमध्ये बैकिङ कसूरमा अदालतबाट कैद तथा सजाय सुनाइएका फरार प्रतिवादीको संख्या २३ जना छ । दुई जनामात्र अन्य मुद्दाका प्रतिवादी छन् । पक्राउ पर्नेमा १८ पुरूष र ५ महिला रहेका छन् ।

पक्राउ परेकाहरूबाट १० वर्ष ४ महिना ४ दिन कैद भुक्तानी तथा चार करोड ३१ हजार जरिमाना असुल गरिएको ब्यूरोले जनाएको छ । गत आव ०७७/७८ मा ब्यूरोले अदालतबाट दोषी ठहर भएका ५१ जना फरार प्रतिवादी पक्राउ गरेकोमा ४० जना बैकिङ कसूर मुद्दाका थिए । पक्राउ पर्ने बैंकिङ कसुर मुद्दाका प्रतिवादीबाट साढे ९ वर्ष कैद भुक्तानी तथा १४ करोड ७३ लाख १६ हजार ६ सय रुपैयाँ जरिमाना असुल गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

ब्यूरोको यो तथ्यांकले पछिल्लो समय आर्थिक अपराधका घटना बढिरहेको पुष्टि गर्दछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया