नविल बैंकले काठमाडौंमै ११ शाखा खोल्दै, माग्यो घर

५ बर्ष अगाडि

काठमाण्डौ । नबिल बैंकले काठमाडौं उपत्यकामा ११ वटा शाखा खोल्ने भएको छ । आक्रामक ढंगले बिजनेस ग्रोथ गरिरहेको नविलले शाखा विस्तारलाई पनि तीव्रता दिँदा राजधानीमा मात्रै एकैपटक ११ शाखा  खोल्न लागेको हो । 

त्यसका लागि भवन भाडाका लागि प्रस्ताव आह्वान गरेको छ। काठमाडौंको नैकाप, जरङ्खु, टोखा ग्राण्डी, गोंगबु जलपा, थली डाँछी, साँखु, शंखमूल र भगवान पाउ तथा त्यस्तै ललितपुरका इमाडोल, ठैब र मंगलबजारमा भवन भाडामा लिन प्रस्ताव आह्वान गरेको हो । 

शाखाका लागि बैंकले भुइँ तल्ला वा पहिलो तल्लाको ८०० देखि १ हजार २०० वर्गफिट क्षेत्रफल भएको भवन भाडामा उलब्ध गराउन इच्छुक घरधनीहरुलाई शिलबन्दी प्रस्ताव आह्वान गरेको बैंकले जनाएको छ ।  

भाडामा लिने भवनका लागि पानी, बिजुली तथा पार्किङको सुविधासहित घटीमा ६ मिटर चौडाइको मोटर बाटो हुनुपर्ने सर्त बैंकले राखेको छ। भवनको भुइँ तल्लामा एटीएम तथा जेनेटर राख्नका लागि स्थान उपलब्ध भएको, सडक विस्तार योजनामा नपरेको भवन र  भूकम्प प्रतिरोधात्मक भवनलाई प्राथमिकता दिने बैंकले सूचनामा उल्लेख गरेको छ । ,  घटीमा १५ वर्षका लागि भवन उपलब्ध गराउन सक्ने घरधनीले प्रस्ताव पेश गर्न सक्ने बैंकले जनाएको छ । 

शिलबन्दी प्रस्तावमा घरधनीहरुले भाडामा दिन चाहेको भवन रहेको स्थानको पूर्णविवरण सहित लालपूर्जा, भवनको स्वीकृत नक्सा, भवनको निर्माण सम्पन्न भएको प्रमाणपत्र, फोटो, तथा घरधनी र सम्पर्क व्यक्तिको नाम, सम्पर्क टेलिफोन नम्बर, ठेगाना र नागरिकताको प्रतिलिपिजस्ता कागजपत्र पनि बैंकले मागेको छ । 

भाडामा दिन चाहनेहरुले आउँदो असोज ६ गते दिनको ४ः३० बजेभित्र प्रस्ताव बुझाउनुपर्ने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया