काठमाडौं - चालु आर्थिक वर्षको पहिलो एक महिनामा १९ जीवन तथा १९ निर्जीवन बीमा गरी कुल ३८ बीमा कम्पनीहरूले १९ अर्ब ६० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा चालु आवको समीक्षा अवधिमा बीमाशुल्क संकलन ५२.६३ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा उक्त कम्पनीहरूले कुल १२ अर्ब ८४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन गत आवको साउन महिनाको तुलनामा ६३.८१ प्रतिशतले बढेर २०७८ साउनमा १६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०७७ को साउन सम्ममा जीवन बीमा कम्पनीहरूले १० अर्ब १४ करोड रुपैयाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ।
यसैगरी २०७८ साउनमा १९ वटा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ९९ करोड रुपैयाँ संकलन गरेका छन् जुन गत आवको साउन महिनाको तुलनामा १०.७४ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष २०७७ को साउन सम्ममा २ अर्ब ७० करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेका थिए ।
प्रतिक्रिया