काठमाडौं - धितोपत्र बजारमा चार ओटा वाणिज्य बैंक सहित ६ ओटा कम्पनीहरुले १ करोड २७ लाख कित्ता ऋणपत्र विक्रीको तयारी गरेका छन् । कामना सेवा विकास बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकले उक्त कित्ता ऋणपत्र विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।
यी मध्ये सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकको निवेदन स्वीकृत प्रकृया अन्तिम चरण रहेको छ ।
सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले २०७७ साल असोज २२ गते २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएको थियो । सोही वर्ष मंसिर १७ गते नै बोर्डको प्रतिक्रिया प्राप्त गरे पनि हालसम्म स्वीकृति पाएको छैन । बोर्डले केही प्रकृया अझै बाँकी रहेकाले सेञ्चुरी बैंकको ऋणपत्र स्वीकृति प्रकृया रोकिएको जानकारी दिएको छ । स्वीकृति पछि बैंकले ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको २२ लाख कित्ता ऋणपत्र मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि र १३ लाख २० हजार कित्ता विभिन्न संघ संस्थाहरुमा विक्री गर्नेछ ।
सिभिल बैंक
सिभिल बैंकले २०७८ साल जेठ २४ गते ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएको छ । बोर्डको प्रतिक्रिया बमोजिमको प्रकृया पूरा गर्न बाँकी रहेकाले बैंकको ऋणपत्र स्वीकृति रोकिएको जानकारी दिएको छ । बैंकले स्वीकृति पछि ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ३० लाख कित्तामध्ये १२ लाख सर्वसाधारणमा र १८ लाख विभिन्न संघसंस्थाहरुमा विक्री गर्ने भएको हो ।
कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन ३ गते निवेदन दिएको छ । स्वीकृति पछि बैंकले १० वर्षे अवधिको ९ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सामूहिक लगानी कोष सहित सर्वसाधारणमा विक्री गर्नेछ । साथै ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले ८ वर्षे अवधिको ८.५ प्रतिशत ब्याजदरको कुल २० लाख कित्तामध्य ८ लाख सर्वसाधारणका लागि र १२ लाख परिपत्र विधिका लागि छुट्याएको छ । बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासनका लागि साउन २० गते निवेदन दिएको छ ।
एनएमबि बैंक
एनएमबि बैंकले १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदरको ऊर्जा बण्डका नामको ३५ लाख कित्तामध्ये १४ लाख सर्वसाधारणका लागि र २१ लाख परिपत्र विधिका लागि छुट्याएको छ । बैंकले ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासनका लागि साउन २४ गते निवेदन दिएको हो ।
गरिमा विकास बैंक
गरिमा विकास बैंकले भने ७ वर्षे अवधिको ८.७५ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणमा र ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघसंस्थाहरुमा जारी गर्नेछ । २०७८ साल असार ११ गते १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्रीको लागि निवेदन दिएको बैंकले एकै दिन साउन २१ गते बोर्डबाट प्रतिक्रिया प्राप्त गरिसकेका छन् ।
प्रतिक्रिया