मेगा बैंक र हिमालयन बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

५ बर्ष अगाडि

काठमाडौं - मेगा बैंक नेपाल लिमिटेड र हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ भने हिमालयन बैंकको खुद ब्याज आम्दानी घट्दा खुद नाफा बढेको छ ।

मेगा बैंक नेपाल लिमिटेड
असार मसान्तसम्ममा मेगा बैंक नेपाल लिमिटेड २ अर्ब ३० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३८।९५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी २६.९० प्रतिशत बढेको छ । 

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४६.३० प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८० करोड ६४ लाख रुपैयाँबाट बढेर ८४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६४ पैसा बढेर १५ रुपैयाँ ७१ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ११ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ११.५४ प्रतिशत बढेको छ भने जगेडा कोष १५.९२ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ७.०४ प्रतिशत र कर्जा २४.२८ प्रतिशत बढेको छ ।

हिमालयन बैंक लिमिटेड
असार मसान्तसम्ममा हिमालयन बैंक लिमिटेड २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.९० प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.४३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १.६८ प्रतिशत बढेको छ । 

त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २६.२७ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा साढे ३० करोडबाट घटेर साढे १४ करोड पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १६ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षमा १४ प्रतिशत बोनस शेयर वितरण चुक्ता पूँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ४६ पैसा बढेर २८ रुपैयाँ ६ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ९४ पैसा रहेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष १४.३५ प्रतिशत बढेको छ भने निक्षेप १२.५८ प्रतिशत र कर्जा २३.८९ प्रतिशत बढेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया