एडीबीले नेपाललाई दियो १९ अर्ब ५८ करोड, सरकारले ६८ लाख जनतालाई पुग्ने खोप किन्ने

५ बर्ष अगाडि

नेपाललाई कोभिड १९ विरुद्धको खोप खरिदका लागि एशियाली विकास बैंक (एडीबी) ले १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण दिएको छ । ऋणसम्बन्धी सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको छ। 

बुधबार नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले बीच सम्झौतापत्रमा हस्ताक्षर गरे । 

यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी ६८ लाख जनसंख्यालाई खोप लगाइने सरकारले जनाएको छ । 

सम्झौतापछि अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताए । उनले खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। 

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे।

उनले कोभिड १९ संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्‍याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने आश्वासन दिए।

यस बाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलाई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया