लक्ष्मी बैंकले निष्काशन गरेको २ अर्ब रुपैयाँको ऋणपत्रमा आवेदन दिने म्याद थप, कहिले सम्म ?

५ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले असार २८ गतेदेखि १० वर्ष अवधिको ‘८।५० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गरेको थियो । 

उक्त ऋणपत्रमा अब साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।

सोमध्ये ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बाँडफाँट गरिनेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिने बैंकले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया