काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसेनलले बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसंग अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली ,२०७३ बमोजिम बैंकले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, बिराटनगरमा प्रधान कार्यालय रहेको फाइनान्सलाई जेठ ११ गते अन्तिम सम्झौता गरेको हो।
सम्झौतामा बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्स लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले हस्ताक्षर गरे । दुवै संस्थाले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७/०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको बैंकले जनाएको छ ।
२०७८ साल जेठ ९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ ।
प्राप्ति पश्चात बैंकको कुल शाखा १८९ हुनेछ । सहमति अनुसार, सिर्जना फाइनान्स लिमिटेडका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९५ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।
प्रतिक्रिया