काठमाडौं, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ९६.०९ प्रतिशतले खुद नाफा वृद्धि गरी ५१ करोड ८१ लाख रुपैयाँ पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा जम्मा २६ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, सोशी अवधीसम्म लघुवित्तको खुद ब्याज आम्दानी ९८ करोड ६८ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा ४७.८० प्रतिशतले बढी हो ।
त्यस्तै, गत वर्ष १७ करोड ६९ हजार रुपैयाँ राइट ब्याक गरेकामा चालु आवको तेस्रो त्रैमासमा राइट ब्याक रकम ९८.६३ प्रतिशतले बढेको छ । चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको यसको जगेडा कोषमा १ अर्ब १३ करोड ५५ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तले निक्षेप ६ अर्ब ३१ करोड ११ लाख रुपैयाँ र ७ अर्ब ४७ करोड ७ लाख रुपैयाँ सापटी लिएर १५ अर्ब ११ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको चैतसम्म डिप्रोक्सले ४ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ निक्षेप र ६ अर्ब ६५ करोड ३६ लाख रुपैयाँ सापटीबाट १२ अर्ब ६ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।
डिप्रोक्स लघुवित्तको खुद नाफामा आकर्षक सुधार भएपछि प्रतिशेयर आम्दानी पनि ३५ रुपैयाँबाट बढेर ५९ रुपैयाँ पुगेको छ । यसअवधिमा खराब कर्जा पनि घटेको छ । यस लघुवित्तको खराब कर्जा २.५८ प्रतिशतबाट घटेर ०.५३ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया