काठमाडौं- वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेका छन्। हाल नेपालमा २७ वाणिज्य बैंक रहेका छन ।
साउनदेखि चैत मसान्तसम्म नौ महिनामा वाणिज्य बैंकहरूले कुल ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।
बैंकहरूको नाफा गत वर्षको यसै अवधिको तुलनामा ६ अर्ब ७ करोड रूपैयाँ अर्थात १३.५ प्रतिशत बढेको छ। गत वर्ष यसै अवधिमा ४४ अर्ब ७० करोड रूपैयाँ खुद नाफा कमाएका थिए।
चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसको नाफा १६.५० प्रतिशतले बढेर ३ अर्ब ६७ करोड ९८ लाख ७० हजार रुपैयाँ पुगेको छ ।
यता, ग्लोबल आइएमई र एनआइसी एसिया बैंकको नाफा पनि ३ अर्ब माथि छ । यसअवधिमा २१ बैंकको नाफा बढेको छ भने ६ बैंकको नाफा घटेको छ । सबैभन्दा धेरै नाफा बढ्नेमा एनएमबि बैंक रहेको छ । यसको नाफा ८७.८० प्रतिशतले बढेर २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा सबैभन्दा धेरै वितरणयोग्य नाफा नबिल बैंकको रहेको छ । नबिलको वितरणयोग्य नाफा ८१.४७ प्रतिशतले बढेर ३ अर्ब ८० कोड २४ लाख ९५ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा २५ बैंकको वितरणयोग्य नाफा बढेको छ । स्टान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकको वितरणयोग्य नाफा भने घटेको छ ।
गत आर्थिक वषको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी घटेको छ भने अन्य आम्दानी बढेको छ।
यस अवधिमा बैंकहरुको खुद ब्याज आम्दानी २ प्रतिशतले घटेको छ तर फि कमिशन आम्दानी र सञ्चालन मुनाफा भने क्रमशः ९.२४ प्रतिशत र ९.०८ प्रतिशतले बढेको छ।
यस अवधिमा कुमारी बैंकको खुद ब्याज आम्दानी सबैभन्दा धेरै ३९ प्रतिशतले बढेको छ भने फि कमिसन आम्दानी सेञ्चरी कमर्शियल बैंकको सबैभन्दा धेरै ५४ प्रतिशत र सञ्चालन आम्दानी कुमारी बैंकको ७४ प्रतिशतले बढेको छ।
गत वर्ष चैत मसान्तसम्म २७ बैंकहरूले कुल २८ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा यो चैत मसान्तसम्म आउँदा ३५ खर्ब ७३ अर्ब रुूपैयाँ पुगेको छ। समग्रमा एक वर्षमा २५ प्रतिशतले कर्जा बढेको छ। निक्षेपभन्दा पनि कर्जाको वृद्धिदर बढी हो। सो अवधिमा निक्षेप भने २३ प्रतिशतले बढेको छ।
प्रतिक्रिया