काठमाडौं - बीमा समितिले नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्ने सम्बन्धमा प्रस्ताव आह्वान गरेको छ ।
साथै अब नेपालमा थप एउटा नयाँ पुनर्बीमा कम्पनी आउने निश्चित भएको छ । समितिले आज एक सूचना जारी गर्दै पुनर्बीमा व्यवसायलाई बढी प्रतिस्पर्धी, प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकोले निजी क्षेत्रको लगानीमा थप एक पुनर्बीमा कम्पनी स्थापनाको कार्य अगाडि बढाउने प्रयोजनका लागि इच्छुक व्यक्ति तथा लगानीकर्ता संस्थाबाट विभिन्न सर्तहरूको अधीनमा रही प्रस्ताव आह्वान गरेको छ ।
नयाँ पुनर्बीमा कम्पनीको चुक्ता पुँजी कम्तीमा १० अर्ब रुपैयाँ हुनुपर्ने समितिले जनाएको छ । यस्तै, प्रस्तावकले यसअघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेको (क्रस होल्डिङ भएको) भए त्यस्तो प्रस्तावक लगानीकर्ताको प्रस्ताव अमान्य हुनेछ ।
बीमा समितिको सूचनामा उल्लेख भएअनुसार प्रस्तावित पुनर्बीमा कम्पनीका लागि प्रस्ताव पेस गर्दा यस समितिबाट जारी गरिएको बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को परिच्छेद ३ को बुँदा नम्बर ९ मा व्यवस्था भए बमोजिमका संस्थापना तथा दर्ता सम्बन्धी प्रावधानमा उल्लेखित बुँदाहरू समेत समावेश गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया