काठमाडौं - सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मा खूद नाफा ३५ करोड १६ लाख पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
उक्त खुद नाफा अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष ५६.६६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म बैंकको खूद नाफा २२ करोड ४४ लाखमा सीमित रहेकोमा यो वर्ष बढेर ३५ करोड १६ लाख पुगेको हो ।
समीक्षा अवधिका लागि सांग्रीलाको वितरणयोग्य मुनाफा २४ करोड २८ लाखभन्दा बढी रहेको छ । त्यस्तै संचालन मुनाफातर्फ पनि बैंकले राम्रो प्रगति गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३२ करोड ३१ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ४७ करोड माथि पुगेको हो ।
बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८२ करोड १३ लाख रहेको खूद ब्याज आम्दानी केही बढी यो वर्ष ८४ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालनतर्फ पनि उल्लेख्य प्रगति गरेको देखिएको छ । बैंकले यो अवधिमा ४१ अर्ब ९४ करोड बढी निक्षेप संकलन गरी ३५ अर्ब ६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले २९ अर्ब २५ करोड निक्षेप संकलन गरी २३ अर्ब ८६ करोड कर्जा परिचालन गरेको थियो । यसरी हेर्दा बैंकले निक्षेप करिब ४३.४० प्रतिशतले र कर्जा करिब ४७ प्रतिशतले बढाएको देखिन्छ ।
खूद नाफा उत्साहजनक ढंगले बढाएको बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा सांग्रीलाको इपीएस ५६.७० प्रतिशतले बढेको छ ।
प्रतिक्रिया