काठमाडौं - कैलालीको सत्ती भन्सार कार्यालय खक्रौलाले नौ महिनामै भन्सार राजश्व लक्ष्यभन्दा दोब्बर सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७र७८ को साउनदेखि चैत मसान्तसम्म लक्ष्यभन्दा ३५ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ ।
कार्यालयलाई भन्सार विभागले आर्थिक वर्षको शुरुमा रु ६ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य दिएको थियो । त्यो लक्ष्य पहिलो चौमासिकमै पूरा भएपछि थप रु ८ करोड बढाएर रु १४ करोड राजश्व उठाउनुपर्ने वार्षिक लक्ष्य तोकेको थियो ।
चैत मसान्तसम्म रु ९ करोड ७१ लाख राजश्व उठाउने लक्ष्य दिएकामा रु १३ करोड १६ लाख राजश्व सङ्कलन भएको भन्सार विभागले जनाएको छ । पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको बताइएको छ ।
उता धनगढीस्थित कैलाली भन्सार कार्यालयले पनि नौ महिनामा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म रु ५ अर्ब ९७ करोड राजश्व उठाउने लक्ष्य लिएकामा रु छ अर्ब ९२ करोड राजश्व उठेको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
प्रतिक्रिया