काठमाडौं - रिलायन्स फाइनान्स लिमिटेडको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको तुलनामा यो वर्ष घटेको छ भने खुद नाफा बढेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा फाइनान्सको खुद ब्याज आम्दानी ३३.०६ प्रतिशत घटेर १० करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै फाइनान्सको खुद नाफा भने ३७.३१ प्रतिशत बढेर ८ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी घटेपनि अन्य सञ्चालन आम्दानी बढेका कारण फाइनान्सको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी ३९ लाख रुपैयाँबाट बढेर १३ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा फाइनान्सको वितरण योग्य मुनाफा १० करोड ७९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ हजार १८.७२ प्रतिशत बढी हो । समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ३७.३१ प्रतिशत बढेको छ ।
खुद नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ३ रुपैयाँ ७८ पैसा बढेर १३ रुपैयाँ ९१ पैसा पुगेको छ । चैत मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात २१.०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३२ पैसा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको चुक्ता पूँजी स्थिर रहेको छ । त्यस्तै जगेडा कोष ९४.११ प्रतिशत बढेको छ । समीक्षा अवधिमा फाइनान्सको निक्षेप १८.४५ प्रतिशत बढेको छ भने कर्जा १६.३९ प्रतिशत बढेको हो ।
कर्जा लगानी बढेपनि फाइनान्सको निष्क्रिय कर्जा भने घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सको यस्तो कर्जा ०.७५ प्रतिशतविन्दु घटेर १.८८ प्रतिशतमा सीमित भएको छ।
प्रतिक्रिया