साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै नेपाल बैंक, कहिलेबाट ?

५ बर्ष अगाडि

काठमाडौं - नेपाल बैंक लिमिटेडले वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बैशाख २२ गतेदेखि ‘८.५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । 

उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । सोमध्ये १ अर्ब ४० करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । 

साथै बाँकी २१ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र खरिदका लागि छिटोमा बैशाख २६ गतेसम्ममा आवेदन दिनु पर्नेछ । उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ५ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया