काठमाडौं - सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५० करोड २ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो ।
यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.३९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ३० करोड ७७ लाख रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले १ अर्ब ७० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ९.८७ प्रतिशतले घटेर १ अर्ब ५४ करोड पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी घटेतापनी सञ्चालन मुनाफामा भने बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ५३ करोड ८७ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक तेस्रो त्रैमाससम्ममा २६.४२ प्रतिशतले बृद्धि भएर ६८ करोड १० लाख रुपैयाँ पुगेको छ ।
बैंकको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ ।
अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैया १ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर ७ रुपैयाँ ७५ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३०.७० गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३८ पैसा रहेको छ ।
अघिल्लो आर्थिक बर्षको तुलनामा यो समिक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २.९० प्रतिशतले घटेको हो । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १२७ रुपैया ७ पैसा थियो ।
बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया