काठमाडौं - मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९४.१६ प्रतिशत अर्थात १.९४ गुणा बढी हो ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको छ । सो अवधिसम्ममा फाइनान्सको खुद नाफा करिब २ गुणा बढेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । तर, फि तथा कमिशन आम्दानी र अन्य सञ्चालन आम्दानी बढेका कारण खुद नाफा भने बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी १.५८ प्रतिशत घटेको छ ।
तर, कम्पनीको खुद फि तथा कमिशन आम्दानी समीक्षा अवधिमा ४०.८२ प्रतिशत बढेको छ । अन्य सञ्चालन आम्दानी ३२७.५३ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १०४.४७ प्रतिशत बढेको छ ।
चैत मसान्तसम्ममा कम्पनीको वितरण योग्य मुनाफा २८ करोड २१ लाख ३१ हजार रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५५.०१ प्रतिशत बढी हो ।
खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३३ पैसा बढेर ५१ रुपैयाँ ८२ पैसा पुगेको छ ।
गत आर्थिक वर्षको अन्त्यको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १८ प्रतिशत बढेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १८ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको हो ।
समीक्षा अवधिमा कम्पनीको निक्षेप ४३.०६ प्रतिशत बढेको छ । त्यस्तै कर्जा लगानी ७.७३ प्रतिशत बढेको छ । कर्जा लगानी बढे पनि कम्पनीको खराब कर्जा भने घटेको छ ।
प्रतिक्रिया