मास्क फ्याँक्नेलाई कारबाही, लामो दूरीका गाडीले बीचमा यात्रु चढाउन नपाउने

५ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको हो ।

यो सँगै अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टबिन वा प्लाष्टिकको झोलामा बन्द गरी पाँच दिनसम्म सुरक्षित राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारबाही हुनेछ । घर तथा सार्वजनिक ठाउँमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न भनिएको छ ।

सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । सरकारी आदेशअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो । 

नयाँ भेरियन्टसहित कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि यसको रोकथाम र नियन्त्रणका लागि निगरानी थालिएको उनले बताए । यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंले गाडी चलाउँदा चालक र सहचालकलाई मास्क र भाइजर अनिवार्यरूपमा लगाउन निर्देशन दिएको छ । 

साथै गृहमन्त्रालयबाट प्राप्त निर्देशनअनुसार दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाइ आएमा चालक तथा सहचालकले बढीमा १० रुपैयाँ लिई उपलब्ध गराउन पनि निर्देशन दिएको छ । लामो दूरीमा चल्ने सार्वजनिक गाडीले बीच बाटोमा यात्रु चढाउन पाउने छैनन् । 

सुरुको गन्तव्यदेखि हिँडेपछि यात्रु नचढाइ अन्तिमसम्म जानुपर्नेछ । त्यस्तै यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाण्डौलाई उपलब्ध गराउन भनिएको छ ।
सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुमा मास्क अनिवार्य गर्न, गाडीको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था मिलाउन भनिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया