निर्देशिका भन्दा बाहिर रहेर शेयरबजारमा लगानी गरेको आरोपमा निलम्बन भएका अग्रवाललाई स्पष्टीकरण

५ बर्ष अगाडि

काठमाडौं - लगानी निर्देशिका भन्दा बाहिर रहेर शेयरबजारमा लगानी गरेको आरोपमा निलम्बन भएका जनरल इन्स्योरेन्स कम्पनीका सञ्चालक दीपेन्द्र अग्रवाललाई बीमा समितिले स्पष्टीकरण पनि सोध्ने भएको छ । 

समितिले गत शुक्रवार अग्रवाललाई कम्पनीको सञ्चालक सदस्यबाट निलम्बन गरेको थियो । अब, छिट्टै स्पष्टीकरण पनि सोध्ने तयारीमा रहेको  बीमा समितिले जनाएको छ ।

नियमनको क्रममा लगानी निर्देशिकाले तोकेको भन्दा बाहिर गएर लगानी गरेपछि केही दिनअघि मात्रा कम्पनी सञ्चालक सदस्य अग्रवाललाई निलम्बन गरिएको थियो । अब छिट्टै यस सम्बन्धमा स्पष्टीकरण पनि सोध्ने र चित्तबुझ्दो जवाफ नआएमा आवश्यक प्रक्रिया पूरा गरेर पदमुक्त गर्न पनि सकिने समितिले जनाएको छ ।

साथै चित्तबुझ्दो जवाफ आएमा यस निर्णयमा पुनर्विचार गर्न सकिने पनि बताइएको छ । समितिको स्थलगत निरीक्षणका क्रममा कम्पनीले लगानी निर्देशिका २०७५ भन्दा बाहिर गएर शेयरबजारमा लगानी गरेको देखिएपछि अग्रवाललाई निलम्बन गरेको हो । 

अग्रवाल कम्पनीको सञ्चालक सदस्य मात्र नभएर लगानी समितिका संयोजक पनि हुन् । उनकै संलग्नतामा लगानीसम्बन्धी अनियमितताहरू भएको बीमा समितिको भनाइ छ ।

समितिले गत चैत २२ र २३ गते कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणको प्रतिवेदनले अग्रवालकै संलग्नतामा लगानीसम्बन्धी अनियमितता भएको समितिले बताएको छ ।

लगानी निर्देशिकाअनुसार बीमा कम्पनीहरूले कुल टेक्निकल रिजर्भको १० प्रतिशतसम्म रकम धितोपत्र बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा लगानी गर्न सक्नेछ । तर, जनरल इन्स्योरेन्सले त्यो सीमाभन्दा माथि गएर लगानी गरेको निरीक्षणको क्रममा देखिएको छ ।

बीमा कम्पनीहरूले तोकिएको लगानीको सीमा प्रत्येक दिन नै कायम हुनुपर्ने छ । तर, गत चैत २३ गतेसम्म कम्पनीले तोकिएको सीमा पनि कायम नहुने गरी लगानी गरेको पाइएको समितिले जनाएको छ । 

कम्पनीले आव २०७६/७७ को अन्तसम्म कायम टेक्निकल रिजर्भको ६४ प्रतिशतसम्म लगानी गरेको छ । आव २०७५/७६ को अन्तसम्म कायम टेक्निकल रिजर्भको पनि अधिकांश रकम शेयरमा नै लगानी गरेको समितिको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया