काठमाडौं - वैदेशिक रोजगार विभागको नयाँ महानिर्देशकमा कृष्ण प्रसाद दवाडी नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार कृष्ण प्रसाद दवाडीलाई विभागको महानिर्देशकको जिम्मेवारीमा पठाएको हो ।
विभागका तत्कालीन महानिर्देशक कुमारप्रसाद दाहाललाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय बुटवलमा सरुवा गरेपछि विभागको महानिर्देशक पद एक हप्तायता रिक्त थियो ।
मुलुकमा वार्षिकरुपमा आउने करिब ९ खर्ब रेमिट्यान्स क्षेत्र सुधार र व्यवस्थित गर्न व्यवसायीहरुले पटक–पटक आवाज उठाएपनि विभागको नेतृत्व गर्ने महानिर्देशक करिब एक वर्षमात्र टिक्ने गरेका छन् ।
वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्ने र रोजगारीमा जाने कामदारहरुको अधिकार संरक्षण गर्ने जिम्मेवारी भएपनि विभागले विगत केही वर्षयता नेतृत्वको स्थायित्व पाउन सकिरहेको छैन ।
सुधारको प्रयास गरेका विभागका तत्कालीन महानिर्देशक डा. भीष्म कुमार भुसालले दश महिनामात्र विभागको नेतृत्व गरे भने त्यसपछि आएका कुमार दाहाल पनि १४ महिना जति विभागमा बसे पनि कोरोना संक्रमणका कारण उनले देखिने गरी काम गर्न पाएनन् ।
प्रतिक्रिया