काठमाडौं - ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा आधा भन्दा बढी कर्मचारी प्रचलित नियम विपरित बिदामा बसेको पाइएको छ । जम्मा ३४ कर्मचारी रहेको उक्त गाउँपालिकाको कार्यालयमा १९ कर्मचारी लिखित बिदा स्वीकृत नगराइ कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले गरेको छड्के जाँचका क्रममा यस्तो भेटिएको हो । आङ्देम्बेले गरेको छड्केमा छैटौं तहका २, पाँचौं तहका ४, चौथा तहका १२ र १ जना श्रेणी बिहिन कर्मचारी बिदा स्वीकृत नगराइ कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।
२०७७ चैत १ देखि २०७८ बैशाख ३ गते सम्मको अवधिलाई आधार मानेर छड्के गरिएको आङ्देम्बेले जानकारी दिएका छन् । छड्केमा कोही महिना दिन सम्म त कोही ७ दिन सम्म कार्यालयको बिना स्वीकृत कार्यालयमा अनुपस्थित रहेको पाइएको छ ।
मौखिक रुपमा पटक–पटक सचेत गर्दा पनि कर्मचारीको अनुपस्थितिले सेवाग्राहीका काममा उल्झन आउन थालेपछि छड्के जाँच गरिएको आङ्देम्बेले बताए ।
छड्केमा परेका सबै कर्मचारीलाई लिखित स्पष्टीकरण पेश गर्न भनिएको र चित्त बुझ्दो जवाफ नआए गाउँ कार्यपालिकाले गर्ने निर्णय र प्रचलित कानुन अनुसार थप कारवाही प्रकृया अघि बढाउने पनि आङ्देम्बेले बताए ।
प्रतिक्रिया