शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढी विद्यार्थी भएका विद्यालयमा आलोपालो वा सिफ्टमा कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड–१९ को अवस्थामान विद्यालय सञ्चालन र बन्द गर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिइएको जानकारी दिए । उनले भीडभाड नहुने गरी विद्यार्थीको सङ्ख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको सङ्क्रमणको पछिल्लो अवस्थासमेतलाई विचार गरी स्थानीय तहसँग समन्वय गर्न भनिएको बताए ।
यस्तै सबै विद्यालयलाई जनस्वास्थ्यसम्वन्धी मापदण्डका साथै प्रदेश सरकार र स्थानीय तहबाट तय गरिएका थप मापदण्डको पनि पालन गर्न, मास्क तथा स्यानिटाइजरको अनिवार्य प्रयोग गर्ने, साबुन पानीले हात धुने र व्यक्तिमा सङ्क्रमणको लक्षण पाइएमा तत्काल आइसोलेसनमा राखी नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने व्यवस्थालाई प्रभावकारी वनाउन मन्त्रालयका प्रवक्ता शर्माले आग्रह गरेका छन् ।
यस्तै विद्यालय वन्द वा तोकिएबमोजिम सञ्चालन गर्नुहुन र वन्द गरिएका विद्यालय पुनःसञ्चालन गर्दा विद्यालय सञ्चालनसम्वन्धी कार्यढाँचा, २०७७ मा तोकिएका विधि तथा प्रक्रियाको पालना गर्नुहुनका साथै विद्यालय वन्द वा आंशिकरूपमा सञ्चालन भएको अवस्थामा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले गरेको व्यवस्था वमोजिम सिकाइ क्रियाकलापलाई निरन्तरता दिन समेत विज्ञप्तिमा भनिएको छ ।
बैठकमा शिक्षा तथा मावन स्रोत विकास केन्द्रका महानिर्देशक बैकुष्ठ अर्याल, मन्त्रालयका सहसचिव डा हरी लम्साल, सहसचिव इमनारायण श्रेष्ठ, डा तुल्सी थपलियासमेतले विद्यालय बन्द र सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने सुझाव दिए।
प्रतिक्रिया