ताप्लेजुङ दोभान बाजारका आगलागीपीडितलाई ६ लाख राहत

५ बर्ष अगाडि

ताप्लेजुङ - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई रु ६ लाख प्रदान गरेको हो । 

प्रतिपरिवार रु नौ हजारदेखि १८ हजारका दरले राहत रकम वितरण गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहीबार दोभानबजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो । 

कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्वसभापति केशव दाहाललगायतले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी राहत रकम पठाएको थियो । 

यस्तै त्रिचन्द्र कलेजमा अध्ययनरत ताप्लेजुङका विद्यार्थीको अगुवाइमा सङ्कलित रु ६० हजारसमेत सोही कार्यक्रमका बीच वितरण गरिएको छ । 

गत फागुन १८ गते भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ६० परिवार विस्थापित बनेका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया