काठमाडौं - सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ निष्कासन गर्ने प्रस्तावसहित बार्हौँ वार्षिक साधारण सभा आज हुँदै छ ।
चैत्र ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आज होटेल अरनिको ,धुलिखेलमा बिहान ११ बजेबाट सुरू हुने भएको हो ।
सभामा एफपिओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८.१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ नगद वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समुहका २ जना गरि ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
साथै संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र १९ गतेदेखि वैशाख ३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, चैत्र १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया