काठमाडौं - वैदेशिक रोजगार विभागका महानिर्देशकको पद रिक्त रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभागका महानिर्देशक कुमारप्रसाद दाहाललाई लुम्बिनी प्रदेश मुख्यमन्त्रीको कार्यालय बुटवलमा सरुवा गरेपछि विभागको उक्त पद एक हप्तायता रिक्त भएको हो ।
वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्ने र रोजगारीमा जाने कामदारहरुको अधिकार संरक्षण गर्ने जिम्मेवारी भएपनि विभागले विगत केही वर्षयता नेतृत्वको स्थायित्व पाउन सकिरहेको छैन ।
त्यसले वैदेशिक रोजगार क्षेत्रको प्रशासन र सुशासनमा समस्या रहेका भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले अनुभवी व्यक्ति विभागको नेतृत्वमा आए सुधारका कामले छिटो गति पाउन सक्ने बताउने गरेका छन् ।
मुलुकमा वार्षिकरुपमा आउने करिब ९ खर्ब रेमिट्यान्स क्षेत्र सुधार र व्यवस्थित गर्न व्यवसायीहरुले पटक–पटक आवाज उठाएपनि विभागको नेतृत्व गर्ने महानिर्देशक करिब एक वर्षमात्र टिक्ने गरेका छन् ।
सुधारको प्रयास गरेका विभागका तत्कालीन महानिर्देशक डा। भीष्म कुमार भुसालले दश महिनामात्र विभागको नेतृत्व गरे भने त्यसपछि आएका कुमार दाहाल पनि १४ महिना जति विभागमा बसे पनि कोरोना कारण उनले देखिने गरी काम गर्न पाएनन् ।
पछिल्लो समय गर्नुपर्ने काम नगर्ने तर अनावश्यकरुपमा म्यानपावर व्यवसायीका कार्यालयमा अनुगमन गरेको भनेर व्यवसायीले दाहालको कार्यशैलीको चर्को आलोचना गरेका थिए ।
प्रतिक्रिया