लाभांश पारित गर्न भोलि साधारण सभा गर्दै सारथी नेपाल लघुवित्त, कति प्रतिशत ?

५ बर्ष अगाडि

काठमाडौं - सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ८.५६ प्रतिशत लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । 

कम्पनीले यस वर्ष ८.१३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य ०.४३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्न भोलिका लागि सभा बोलाएको हो । 

भोलि हुने कम्पनीको १२ औं वार्षिक साधारण सभाबाट प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित हुने भएको छ । सभा होटल अरनिको धुलिखेल, काभ्रेमा बिहान ११ बजेबाट सुरु हुँदै छ । 

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्दै प्रस्तावित लाभांश पनि पारित गर्न लागेको हो । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जर प्रक्रिया सम्पन्न गरेको यस कम्पनीले नयाँ नेपाल लघुवित्तको गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो ।

मर्जर पश्चात हाल कम्पनीको चुक्ता पूँजी रू. २३ करोड ५३ लाख ८६ हजार रहेको छ । सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापकबाट ४ जना र सर्वसाधारणबाट २ जना सञ्चालकको निर्वाचित समेत गर्नेछ ।

कम्पनीले सर्वसाधारणका लागि एफपीओ जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । एफपीओ र बोनस शेयर पश्चात कम्पनीको पूँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संसोधन समेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि चैत १९ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत १८ गतेसम्म कायम शेयर धनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 
 

५ बर्ष अगाडि

प्रतिक्रिया