काठमाडौं - सगरमाथा इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना 'सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना' सार्वजनिक गरेको छ । उक्त बीमालेख मंगलबार सार्वजनिक गरिएको हो ।
कम्पनीको उक्त बीमा योजना बैशाख २ गते देखि बिक्री शुरु हुनेछ । सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना अनलाइनबाट समेत खरिद गर्न सकिने छ ।
साथै, कम्पनीका सबै शाखा कार्यालयहरूबाट समेत उक्त बीमा योजना किन्न सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । कम्पनीको मोबाइल एपमार्फत समेत बीमालेख खरिद गर्न तथा दाबी समेत गर्न सकिनेछ ।
उक्त बीमा योजनामा व्यक्तिगत दुर्घटना बीमा, सामान्य स्वास्थ्य बीमा र गम्भिर प्रकारको रोगको जोखिम बहन हुने कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको यस बीमाअन्तर्गत व्यक्तिगत दुर्घटना बीमामा ७ देखि १० लाख रुपैयाँ, सामान्य स्वास्थ्य बीमामा न्यनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म र गम्भिर प्रकृतिका १८ रोगका लागि एक देखि १० लाख रुपैयाँसम्मको जोखिम बहन हुनेछ ।
बीमितले वार्षिक १६ सय रुपैयाँ बीमा शुल्क तिरेपछि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एक लाख रुपैयाँको स्वास्थ्य उपचारका साथै एक लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका जोखिमको बीमा हुने कम्पनीले जनाएको छ ।
यस्तै, बीमितले वार्षिक ३ हजार रुपैयाँ भुक्तानी गरे १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र दुई लाख रुपैयाँसम्मको गम्भिर प्रकृतिका रोगका बीमा सुविधा प्राप्त हुनेछ ।
कम्पनीका अनुसार बीमितले दाबीका लागि आवश्यक कागजात बुझाएको १० दिनमै बीमा दाबी रकम पाउने छन् । दाबीका लागि बीमितले अस्पतालबाट डिस्चार्ज भएको अथवा रोग पत्ता लागेको ७ दिनभित्र लिखित वा मौखिक जानकारी गराउनु पर्ने छ ।
प्रतिक्रिया